बालिका बलात्कारको आरोपमा दुई जना पक्राउ





बालिका बलात्कारको आरोपमा खोटाङ र कञ्चनपुरमा गरी दुई पक्राउ परेका छन् ।

कञ्चनपुरमा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ परेका छन् । बेलौरी नगरपालिका-१० शिवनगर बस्ने २१ वर्षीय विक्रम चौधरीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।


विक्रमले ती बालिकालाई सोही ठाउँस्थित गन्ना खेततर्फ लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी भुडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

त्यसैगरी खोटाङमा १२ वर्षीय बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् ।

मावली घरमा बस्दै आएकी बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउ नालीका ३५ वर्षीय प्रकाश परियारलाई प्रहरीले पक्राउ गरेको हो ।

घरमा कोही नभएको मौका पारेर बालिकालाई चैत २२ गते दिउँसो ललाई फकाई जवरजस्ती करणी गरेको जाहेरीका आधारमा परियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले बताए । बालिकालाई जवरजस्ती करणी गरेको खबर पाए लगत्तै प्रहरीचौकी दिप्रुङ चुईचुम्माबाट खटिएका प्रहरीको टोलीले अभियुक्तलाई पक्राउ गरेको हो ।




सम्बन्धित
Loading...