अस्ट्रेलियाको सिड्नीमा अन्धाधुन्ध चक्कु प्रहार, ६ जनाको मृत्यु





सिड्नी । अस्ट्रेलियाको सिड्नी सहरको व्यस्त सपिङ सेन्टरमा एक व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गर्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ । आक्रमणकारी पनि प्रहरीको गोलीबाट मारिएका छन् ।

पाँच जनाको घटनास्थलमा र एक जनाको उपचारको क्रममा मृत्यु भएको बताइएको छ । घटनामा आठ जना घाइते भएका छन् । जसमा एक ८ वर्षीय शिशु पनि रहेका छन् ।


आक्रमणकारी ४० वर्षीय पुरुष रहेको र उनीबारे प्रहरी जानकार रहेको बताइएको छ । घटना आतंकवादसँग सम्बन्धित नरहेको अधिकारीहरूले बताए पनि आक्रमणको कारणबारे भने खुलाइएको छैन । स्थानीय समयअनुसार दिउँसो तीन बजे वेस्टफिल्ड बोन्डी जंकसनमा यो घटना भएको थियो ।

अस्ट्रेलियामा यसरी सामूहिक हत्या भएको सन् २०१९ पछि पहिलोपटक हो । डार्विनमा भएको सामूहिक गोलीकाण्डमा ४ जनाको मृत्यु भएको थियो । सन् २०१७ मा जेम्स गार्गासोलासले सर्वसाधारणमाथि गाडीले किच्दा ६ जनाको मृत्यु भएको थियो । त्योभन्दा अघि सन् १९९६ मा पोर्ट आर्थर हत्याकाण्डमा तास्मानियामा ३५ जनाको मृत्यु भएको थियो ।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिसले घटनालाई सर्वसाधारणमाथि लक्षित गरिएको भयानक हिंसाको संज्ञा दिएका छन् । उनले आक्रमणकारीलाई मार्ने प्रहरी अधिकारीको प्रशंसासमेत गरेका छन् ।




सम्बन्धित
Loading...