एसइईपछि सिप सिक्दै विद्यार्थी





कावासोती। बुलिङटार गाउँपालिका– ४ का १६ वर्षीय असिम सुस्लिङ मगरले एसइईको परीक्षा सकेर नतिजा नआउँदासम्म सिप सिक्न लागेका छन् । उनी अहिले बाँसको चोयाबाट डोको, नाम्लो, डाला, सुपो, ढकिया बनाउने सिप सिक्न व्यस्त छन् ।

सहरी क्षेत्रमा एसईई सकेपछि कम्प्युटर लगायतका प्राविधिक ज्ञान हासिल गर्न लाग्छन भने नवलपुरको पहाडि क्षेत्रमा भने फरक सिप सिकाइएको छ ।


उन यस्तो सिपले गाउँमै राम्रो आम्दानी गर्न सकिने, स्वरोजगार बन्न सकिने भएकाले सिप सिक्न लागेका हुन् । बुलिङटार–४, अर्खलास्थित सेतीनाग माध्यमिक विद्यालयका प्रधानाध्यापक खिमबहादुर सुस्लिङ मगर यो पेसा व्यवसायबाट गाउँमै धेरै राम्रो आम्दानी गरिरहेको बताए ।

असिम सुस्लिङ मगरले बाँसको चोयाबाट बनाएका सामानको माग गाउँ र सहर सबैतिर रहेको छ । यो सिप सिकेर भविष्यमा यही पेसा अँगाल्न नसके पनि फुर्सदको समयमा सामग्री बनाउन सकिने भएकाले आफूले घरकै जेठो बुवासँग सिकिरहेको बताए।

उनले एक हप्तामा २० वटा डोको बुुनेर १६ हजार रुपियाँ कमाएको बताए । एसइईको नतिजा आउन तीन महिना कुर्नु परेकाले फुर्सदको समयमा ब्रिज कोर्ससँगै बाँसबाट विभिन्न सामान बनाउने गरी सिप सिकेको र यसलाई अरू अरू ठाउँमा समेत सिक्न प्रेरित गरेको असिमले बताए।

घरकै ठुलो बुवाको वर्षौंदेखिको सिपले पनि यो सिक्न उत्प्रेरित गरेको र चाररपाँच दिनमा सजिलै सिकेर चोयाबाट डोको, डाला, सुपोलगायत धेरै प्रकारका सामान बनाउन सक्षम भएको असिम बताए ।

बाँस काटेर चोया बनाएर डोको, सुपो, डालालगायतका सामग्री बनाउन सहज हुने गरेको र घरै बसीबसी यो काम गर्न सकिने असिम बताउँछन् । यो पेसा गरेका गाउँमा धेरै भेटिन्छन् ।

अर्खलाका वडाध्यक्ष मीनबहादुर आलेमगर यसबाट मनग्ये आम्दानीसमेत हुने भएकाले पनि यसलाई पेसाका रूपमा अँगाल्नेको कमी नभएको बताए । पालिकाले समेत रकम विनियोजन गरेर यस्ता सिप सिक्नेलाई आवश्यक सहयोग गर्ने गरेको वडाध्यक्ष आलेमगरले जानकारी दिए।




सम्बन्धित
Loading...