इजरायलले सुरु गर्‍यो इरानमाथि आक्रमण





काठमाडौं । पश्चिम एसियामा उत्कर्षमा पुगेको बृहत् युद्धको खतरा केही समयलाई टर्‍यो भन्ने विश्वव्यापी विश्वासलाई गलत साबित गर्दै इजरायलले इरानमा मिसाइल आक्रमण गरेको छ । इरानी सरकारी संचारमाध्यमहरुका अनुसार इजरायलको आक्रमण पछि त्यहाँको हवाई सुरक्षा प्रणाली सक्रिय बनाइएको छ ।

समाचारहरूमा उल्लेख भए अनुसार उत्तर पश्चिमी सहर इस्फहान लगायतका प्रान्तहरूमा शुक्रबार बिहान विस्फोटको आवाज सुनिएको छ । इस्फहानमा इरानी सेनाको ठूलो हवाई अड्डा छ । यो इरानको त्यो क्षेत्र हो जहाँ परमाणु हतियारसँग सम्बन्धित अखडाहरू रहेका छन् ।


एक बेलायती सुरक्षा फर्म एम्ब्रेका अनुसार “अरब खाडी र पश्चिमी हिन्द महासागर” पार गर्ने व्यापारी जहाजहरूलाई यस क्षेत्रमा बढ्दो अपरिचित हवाई वाहन गतिविधिको अवस्थामा सतर्क रहन सल्लाह दिइएको छ भन्ने समाचार अलजजिराले प्रकाशित गरेको छ।

समाचार अनुसार इरानको इस्फाहानमा भएको विस्फोटमा कुनै क्षति भने भएको छैन। इरानको समाचार एजेन्सीले एक वरिष्ठ सैन्य अधिकारीलाई उद्धृत गर्दै भनेको छ कि इस्फाहानमा शुक्रबार बिहान सुनिएको विस्फोट सहरमा “हवाई प्रतिरक्षा गतिविधि” सँग सम्बन्धित थियो।

इस्फहान कमान्डरले भने विस्फोटले “कुनै दुर्घटना वा क्षति पुर्‍याएको छैन”। यसअघि इजरायलले इस्फाहान नजिकै धेरै “मिनी क्वाडकोप्टरहरू” खसालेको खबर आएको थियो।

गत १ अप्रिलमा सिरियाको राजधानी दमास्कसमा रहेको इरानको वाणिज्य दूतावासमा इजरायलले हवाई आक्रमण गर्दा सैन्य कमान्डरसहित ७ जनाको मृत्यु भएपछि दुई देशबिच तनाव बढेको हो । त्यो हत्याको बदलास्वरुप इरानले एक साता अघि इजरायलमा गरेको हमलाको इजरायलले जवाफ दिन थालेको बताइन्छ ।




सम्बन्धित
Loading...