इलाममा मतगणना सुरु, बझाङमा दिउँसो १ बजेबाट मतगणना सुरु हुने
इलाम । इलाम क्षेत्र नं २ मा शनिबार सम्पन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना सुरु भएको छ । विहान ११ बजेदेखि मतगणना सुरु गर्ने सर्वदलीय निर्णय भएपनि करिब एक घण्टा ढिला गरी मतगणना सुरु भएको हो ।
इलाम नगरपालिका–७ स्थित गौतम बुद्ध सभागृहका छुट्टाछुट्टै दुई स्थानमा मतगणना सुरु भएको हो । यहाँका छ वटा पालिकामध्ये फाककफोकथुम गाउँपालिकाको मतपत्रबाट गणना सुरु भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए । त्यसपछि क्रमशः चुलाचुली र माङसेबुङ गाउँपालिका, माई, देउमाई र इलाम नगरपालिकाको मतपत्र गणना गरिने उनले जानकारी दिए । सोमबार साँझसम्ममा अन्तिम मतपरिणाम आउने सम्भावना रहेको उनले बताए ।
मतपरिणाम एक घण्टाको फरकमा सार्वजनिक गरिने जानकारी पनि उनले दिए । मतगणनास्थल सिटी हलमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । मतगणनास्थलमा ११ वटा सिसी क्यामरा जडान गरिएको तथा भीडभाड हुन नदिन चोक बजारमा डिस्प्लेमार्फत मतगणनाको अपडेट गरिनेछ ।
कूल ५९ दशमलव ७९ प्रतिशत मत खसेको उपनिर्वाचनमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए । उपनिर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्र गरी १९ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
बझाङ
उपनिर्वाचन अन्तर्गत बझाङ प्रदेशसभा १ मा दिउँसो १ बजेबाट मतगणना सुरु हुने भएको छ ।
बझाङको सदरमुकाम चैतनपुरमा बसेको सर्वदलीय बैठकले १ बजेबाट मत गणना सुरु गर्ने निर्णय गरेको माओवादी केन्द्रका उम्मेदवार जनक बुढाले जानकारी दिए ।
‘मतगणनाको सम्पूर्ण तयारी पुरा भएको छ । दिउँसो १ बजेबाट मत गणना गर्ने सर्वदलीय बैठकले निर्णय गरेको छ’, उनले भने । शनिबार भएको उपनिर्वाचनमा बझाङमा ५० प्रतिशत मत खसेको थियो ।