नवलपुरमा श्रीमान श्रीमती मृत अवस्थामा फेला, हत्या आशंका





रामकुमार श्रेष्ठ —

नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका १२ बेलहानीमा श्रीमान श्रीमती मृत अवस्थामा फेला परेका छन् ।


जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक कमल परियारका अनुसार अन्दाजी ६०÷६५ बर्षीय श्रीमान तुलबहादुर कुमाल र अन्दाजी ५०÷५५ बर्षीया मिना कुमाल मृत अवस्थामा आफ्नै घरमा भेटिएका छन् ।

स्थानीय बासिन्दाका अनुसार कुमालको बन्दै गरेको नयाँ घर बनाउन आउने कामदारहरुले घरका मान्छे आज किन अबेरसम्म उठेन भनेर खोजिनिति गर्दा दुवै जना मृत अवस्थामा फेला परेका हुन् । तुलबहादुर कुमाल राति साढे ८ बजेसम्म छिमेकीहरुसँग गफ गरिरहेको स्थानीयले बताएका छन् ।

श्रीमती मिना कुमालको टाउकामा चोट लागेको छ भने श्रीमान तुलबहादुर कुमाल झुण्डिएको अवस्थामा भेटिएका छन् ।

प्रहरीले हत्याको आशंका गरेको छ । घरमा अन्य आफन्त कोही नभएको र घटना स्थलमा अहिले प्रहरीले मुचुल्का तयार पार्दै गरेकोले अहिले नै घटनाको बारेमा केही भन्न नसकिने प्रहरी निरीक्षक कमल परियारले बताए ।

स्थानीयले भने श्रीमातले श्रीमतीको हत्या गरी आफू पनि झुण्डिएर आत्महत्या गरेको आशंका गरेको छ । यस अघि पनि श्रीमान श्रीमतीबीच बेलाबेलामा झगडा हुने गरेको स्थानीयले बताएका छन् ।




सम्बन्धित
Loading...