स्ववियुको महत्व र कार्यभार



हरि बिष्ट




२०१७ साल पुस १ गते राजा महेन्द्रले राजनीतिक दलमाथि प्रतिबन्ध लगाउँदै पञ्चायती व्यवस्था घोषणा गरेपछि विश्वविद्यालय, कलेज र स्कुलका विद्यार्थीले संगठित रूपले आन्दोलनको सुरुआत गरेपछि केही छिटफुट आन्दोलन भए पनि २०१९ सालदेखि विद्यार्थी आन्दोलनको प्रारम्भ मानिन्छ। २०२० साल वैशाख २३ गते विश्वविद्यालयमा पहिलोपटक हडताल भयो । पञ्चायती शासकहरूले प्रायः राजनीतिक गतिविधिमा विद्यार्थीलाई कडाइ गरे पनि विद्यार्थीहरू पञ्चायती व्यवस्थाविरुद्ध भुसको आगोझैँ भित्रभित्रै विस्फोटक आन्दोलनको तयारीमा थिए। विद्यार्थीहरूको मुख्य माग स्ववियु खोल्न पाउनुपर्छ भन्ने थियो । तर शासकहरू त्यसो गर्न तयार थिएनन् । आन्दोलनको केन्द्र त्रिवि बन्यो । त्रिविमा आन्दोलन सुरु भएलगत्तै देशैभरि आन्दोलन भुसको आगोझैँ सल्कियो । आन्दोलनका बीचमा शासकहरू स्ववियु निर्वाचन गराउन बाध्य भए । २०२० साल भदौ २० गते त्रिविमा स्ववियु निर्वाचन भयो जहाँ प्रगतिशील पक्षले विजय हासिल गर्यो । यसले २०२४ सालमा मात्र वैधानिकता प्राप्त गर्यो ।

स्ववियुलाई विद्यार्थी आन्दोलनको जग बनाई सबै राष्ट्रघाती असमान सन्धि–सम्झौताहरू खारेज गर्न माग गर्दै नेपालका सचेत, प्रगतिशील, देशभक्त, जनतान्त्रिक विद्यार्थीले सङ्घर्ष गर्दै शाही ‘कु’ मार्फत २०१७ साल पुस १ गते सत्ता कब्जा गरेको तत्कालीन तानाशाही महेन्द्र शाहको पञ्चायती व्यवस्थाले विद्यार्थीको आन्दोलनमा बर्बर र आततायी दमन मच्चायो । पञ्च–मण्डलेहरूको अमानवीय फासिस्ट दमन र ज्यादती नरोकिएपछि विद्यार्थी र प्रहरीबीच झडप हुँदा सयौँ विद्यार्थी घाइते भए भने कयौँ विद्यार्थी गिरफ्तार भए । तथापि विद्यार्थी झुकेनन् । गलेनन् । पछि हटेनन् । निरन्तर तानाशाही जल्लादहरूका विरुद्ध डटेर सामना गरिरहे । अन्ततः पञ्चायती सत्ता विद्यार्थीका जायज माग सम्बोधन गर्न बाध्य भयो । आन्दोलनसामु घुँडा टेक्न विवश भयो । यद्यपि मागहरू पूरा भएनभएको आज पनि एउटा समीक्षाको विषय भने अवश्य बन्ला । २०२२ साल जेठ १ गते अनेरास्ववियु स्थापना भयो ।




विद्यार्थीको वीरतापूर्ण, बहादुरीपूर्ण र बलशाली आन्दोलनको सम्झना, सम्मान र आगामी विद्यार्थी आन्दोलनलाई प्रेरणा र हौसला दिने दिनका रूपमा विद्यार्थीले स्ववियुलाई मान्नुपर्छ । नेपालका थुप्रै परिवर्तनकारी आन्दोलनको अग्रमोर्चा तथा सक्रिय साक्षी नेपालको विद्यार्थी आन्दोलनले असंख्य आरोह–अवरोह, घुम्ती, मोड अनि उकाली–ओराली पार गरेको छ । नेपालका ऐतिहासिक राजनीतिक परिवर्तनको संवाहक, ठूलाठूला राजनीतिक विजयको मुख्य हिस्सा नेपाली विद्यार्थी आन्दोलनसँग अनगिन्ती दसी–प्रमाण इतिहासका रक्तरञ्जित पानाहरूमा लिपिबद्ध छन् ।

गौरवपूर्ण विगतका दिनहरूमा स्ववियु विद्यार्थीहरूको आन्दोलनको मोर्चा थियो तर अहिले राष्ट्रियता, जनतन्त्र, जनजीविका, शिक्षा, स्वास्थ्य, प्रतिक्रियावादी जनविरोधी शासन व्यवस्थाका तमाम समस्या, विकृतिहरूमा, राष्ट्र, जनता र विद्यार्थीको हक, अधिकार, न्यायका पक्षमा परिणाममुखी बहस, पैरवी, वकालत र सङ्घर्ष गर्न सकिरहेका छैनन् । स्ववियुमा विजयी कयौँ विद्यार्थी संगठनहरू सत्ताको तलुवा चाट्ने मालिकको ताबेदारी गर्ने नोकरका रूपमा छन् । स्ववियुको कार्यभार पूरा गर्ने होइन, निजी स्वार्थ पूरा गर्ने कार्यमा तल्लीन छन् । मन्त्रीका पीए बन्ने, सिंहदरबार र बालुवाटारको वरिपरि झुम्मिने प्रवृत्ति हाबी छ । सत्ताको चाकर, चाप्लुसी, भक्ति र स्तुति गरेर लाभको तर मार्ने बहुरूपी बिचौलिया बन्नेजस्ता घृणित कार्यले विद्यार्थी आन्दोलनलाई निकै बदनाम मात्र गरेको छैन, इतिहासमै नउठ्ने गरी कमजोर परिरहेको छ । केही बिग्रे र केही बिके पनि । वीरतापूर्ण विरासतका खातिर आन्दोलनका उपलब्धिहरूको रक्षाका लागि संस्थागत गर्न र आन्दोलनको झन्डा झुक्न नदिन क्रान्तिकारी विद्यार्थीहरू स्ववियुको इतिहास बचाउनका लागि सङ्घर्षरत छन् ।

यसबीचमा केही काम नभएको भने होइन । नेपालको राजनीतिक आन्दोलनमा विद्यार्थीले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । विभिन्न आन्दोलनबाट भएका परिवर्तनहरूमा विद्यार्थी संगठन र विद्यार्थीको निर्णायक भूमिका रहेको जस्तो देखिन्छ। राणा शासनविरुद्धको आन्दोलनदेखि पञ्चायतविरुद्धको आन्दोलन हुँदै २०५२ सालमा सुरु भएको जनयुद्ध र जनआन्दोलनमा विद्यार्थीको अभूतपूर्व योगदान रहेको छ ।

२०३६ सालमा स्वतन्त्र विद्यार्थी युनियनकै जगमा विद्यार्थी संगठनहरू पाकिस्तानी नेता जुल्फिकर अली भुट्टोको हत्याको विरोधस्वरूप दूतावासमा शान्तिपूर्ण रूपमा ज्ञापनपत्र बुझाउन गएका थिए जसलाई पञ्चायती व्यवस्थाले आफ्नो पतन नजिक आएको देख्यो र निहत्था विद्यार्थीमाथि चर्को दमन मच्चायो। पञ्चायतले गरेको दमन र आतंकविरुद्ध विद्यार्थीहरू सडकमा ओर्लिए र व्यवस्था परिवर्तनको आवाज बुलन्द गरे। पञ्चायती व्यवस्था विद्यार्थीहरूका अगाडि घुँडा टेक्न बाध्य भयो। बहुदलीय व्यवस्था कि सुधारिएको पञ्चायती व्यवस्था भन्ने विषयमा जनमतसंग्रह घोषणा गर्न बाध्य भयो। तथापि जालझेल, षड्यन्त्र र धाँधलीपूर्वक पुरानै विकृत जनविरोधी–राष्ट्रघाती व्यवस्थाका पक्षमा परिणाम घोषणा गरियो। त्यसका विरुद्ध जनता फेरि सडक सङ्र्घषमा जानुपर्ने बाध्यता आयो।

देशमा २०४६ सालमा प्रजातन्त्रको पुनस्र्थापनाका निम्ति भएको भीषण जनआन्दोलनमा पनि विद्यार्थी संगठनहरूको अर्थपूर्ण र गतिशीलता तथा सक्रियताको कोणबाट (निर्णायक पनि भन्न सकिन्छ) भूमिका रह्यो भने २०५२ साल फागुन १ गतेदेखि सुरु भएको भीषण र अग्रगामी जनयुद्धमा पनि विद्यार्थीहरूको उच्च, अर्थपूर्ण, गौरव गर्नलायक सहभागिता रह्यो। वर्गसङ्घर्षको त्यो भीषण र अदम्य क्षणमा जनयुद्धमा सहभागी भएर थुप्रै क्रान्तिकारी विद्यार्थीले सहादत प्राप्त गरे। थुप्रै घाइते, अपा· र बेपत्ता भए तर उनीहरू थाकेनन्। निरन्तर आन्दोलनमा होमिए। जनयुद्धमा समाहित तिनै युवा विद्यार्थी तत्कालीन राजनीतिक परिस्थितिको मागअनुसार २०६२÷०६३ को जनआन्दोलनमा एकै ठाउँमा उभिए, सम्पूर्ण राजनीतिक दल, नागरिक, सञ्चार क्षेत्र एक ठाउँमा गोलबन्द भए र अन्ततः निरंकुश राजतन्त्रलाई सदाका लागि बिदा गरे। यो गौरवपूर्ण इतिहासलाई जतिसुकै लुकाउन खोजे पनि लुकाउन नसकिने यथार्थ इतिहासका पानाहरूमा कैद भइसकेको छ।

आगामी कार्यभार

२०७३ सालमा केही छिटफुट क्याम्पसमा स्ववियु भए पनि २०६५ सालयता स्ववियुले निरन्तरता पाउन सकेको छैन समकालीन विद्यार्थी आन्दोलन नीति, नेतृत्व, गति र दिशाविहीन भएको यो परिवेशमा नेपालका सम्पूर्ण देशभक्त, वामपन्थी, लोकतान्त्रिक, कम्युनिस्ट तथा जनतन्त्रिक विद्यार्थीहरू एकताबद्ध नहुनुकै कारण स्ववियु निर्वाचनले निरन्तरता पाउनसकेको छैन। त्यसैले विद्यार्थी आन्दोलनको बाँकी अभिभारा पूरा गर्न हो भने प्रत्येक २÷२ वर्षमा स्ववियु निर्वाचन गर्न अनिवार्य छ। तर कठिन परिवेशका साथै हामीभित्र समेत रहेका अक्षमता, अपूर्णता र अपरिपक्वताका कारण पनि विद्यार्थी आन्दोलनले गति र दिशानिर्देश गर्न सकिरहेको छैन।
मूलतः स्ववियुको मुख्य दायित्व विद्यार्थी आन्दोलनको उठान र राष्ट्रियता, जनतन्त्र र जनजीविकाका पक्षमा डटेर आवाज बुलन्द गर्नु, शैक्षिक क्षेत्रका सबै प्रकारका विकृति र विसंगति, यसभित्रको निजीकरण, व्यापारीकरण, माफियाकरण र भ्रष्टीकरणका विरुद्ध आमविद्यार्थीलाई एकताबद्ध गर्नु, नागरिकलाई सुसज्जित गर्नु नै हुन्छ भन्ने हामी सबैको बुझाइ रहँदै आएकाले नेपाल र नेपालीको स्वाभिमान विश्वसामु ओरालो लागिरहेको छ भने अर्कोतिर नेपालको अर्थतन्त्र धरापमा परिरहेको छ। नेपाली नागरिकहरूले सजिलैसँग आफ्नो दैनिकी धान्नसक्ने अवस्था छैन । सामान्य बिरामीले पनि उपचार पाइरहेका छैनन्। विद्यार्थीहरू पढ्न पाइरहेका छैनन् । मजदुरले मजदुरी गर्न पाएका छैनन् । साना व्यवसायीहरूले व्यवसाय गर्न पाइरहेका छैनन् । राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिकलगायत सबै क्षेत्रमा संकट थोपरेको छ। यस्तो परिवेशमा युवा विद्यार्थीहरू अलि रचनात्मक, सिर्जनशील, पृथक, अग्रगामी,नयाँ र फरक ढङ्ले सोच्न, बुझ्न र सबैखाले संकटबाट कसरी पार पाउन सकिन्छ भनी खोज, अध्ययन, अनुसन्धान र अन्वेषणमा जुट्न आवश्यक छ। यसको महत्वपूर्ण मञ्च भनेको स्ववियु नै हो। तत्कालीन परिस्थितिमा युवा विद्यार्थीहरू स्ववियुमार्फत राज्यसत्तालाई विभिन्न रचनात्मक र दबाबमूलक ढंगले देश र जनताप्रति जबाफदेही र उत्तरदायी बनाउन जरुरी छ ।

अर्को कुरा हामीलाई राम्रोसँग के थाहा छ भने अहिलेको शासक र शासन व्यवस्था पूर्ण रूपमा जनमुखी र राष्ट्रमुखी हुन सक्दैन । जनताको न्याय, मुक्ति, स्वतन्त्रता र पूर्ण अधिकार प्राप्ति वैज्ञानिक समाजवादी राज्य व्यवस्था र मालेमावादी विश्वदृष्टिकोणबाट प्रशिक्षित जनप्रतिनिधिबाट मात्रै सम्भव हुन्छ भन्ने विषय आमनागरिक र विद्यार्थीलाई बुझाउन जरुरी छ ।

नेपाली विद्यार्थीको माझमा अहिले एउटा भ्रम उत्पन्न गर्न खोजिँदैछ– स्ववियुको अस्तित्व सकियो, अब किन स्ववियु चाहियो र ? पञ्चायत र राजतन्त्रको अन्त्य भएर गणतन्त्र आइसकेको छ, हिजो राजनीतिक अधिकार थिएन र स्ववियुको माध्यमबाट राजनीतिक विचार, विद्यार्थी र जनताको माझ पु¥याउनु थियोे । आज बहुदलीय व्यवस्था आइसकेपछि किन चाहियो ? यसरी स्ववियुको औचित्यको मात्र होइन, इतिहासकै मजाक र धज्जी उडाउने काम भएको छ ।
विगतमा स्ववियुले नै व्यवस्था परिवर्तनको महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । प्रायः हेर्दा स्ववियु र विद्यार्थी आन्दोलनलाई सत्ता प्राप्तिको भर्याङका रूपमा मात्रै प्रयोग गरेको देखिन्छ । त्यसैले आमविद्यार्थी यस्ता भ्रमबाट मुक्त हुन जरुरी छ । एकपटक नेपालको आमूल परिवर्तन गर्न र देशमा वैज्ञानिक समाजवाद स्थापनाका निम्ति आवश्यक परे बलिदानसम्म गर्न तयार भएर व्यवस्था परिवर्तनका पक्षमा उभिन जरुरी छ । अहिलेको आवश्यकता भनेको स्ववियु निर्वाचनलाई विद्यार्थी आन्दोलनको नयाँ मोर्चा बनाउनु आवश्यक छ भने दीर्घकालीन अभिभारा भनेको व्यवस्था परिवर्तनकै हो । यसो भन्न हिचकिचाउनु पर्ने हामी विद्यार्थी संगठन हैनौँ । शैक्षिक सवाल मात्रै हाम्रा मुद्दा हुन् भनेर हामीभित्रको भएको क्रान्तिकारी, युगान्तकारी तथा ऐतिहासिक सत्ता परिवर्तनको अभिभारामा कायरताको लेप लगाउन जरुरी छैन। शिक्षा, स्वास्थ्य, सामाजिक, आर्थिकलगायत अन्य क्षेत्रमा रहेका अभाव र विकृतिहरूको समाधान व्यवस्था परिवर्तनबाट मात्रै सम्भव रहन्छ। त्यसैले आमविद्यार्थी नहिचकिचाईकन स्ववियु निर्वाचनमा होमिन जरुरी छ।

दलाल पुँजीवादी राज्यसत्ताको अन्त्य गरी अब स्वाधीनता र समृद्धि प्राप्त गर्नु छ । त्यसपछि भोको पेटले खान पाउनेछ । ना·ो शरीरले लगाउन पाउनेछ । खुला आकाशमा बसेकाले छानो पाउनेछन् । बिरामीले उपचार पाउनेछ । विद्यार्थीहरूले एक्काईसौँ शताब्दीको उत्कृष्ट विचार, दृष्टिकोण र चेतनासहितको गरिखाने, राष्ट्र, समाज र नागरिकप्रति जबाफदेही बन्ने संस्कार, सभ्यता र प्रविधियुक्त ज्ञान हासिल गर्नेछन् । पढेलेखेका बेरोजगार युवा–विद्यार्थीले स्वदेशमै रोजगार पाउन, बर्सौंदेखि हेपिएका दलित, जनजाति, मधेसी, उत्पीडित जाति, क्षेत्र, लि·, वर्ण, वर्ग र समुदायका नागरिकले शान्तिको सास फेर्नेछन् ।
सबैले श्रम गरेर खाने स्थिति निर्माण हुनेछ । समान, निःशुल्क र वैज्ञानिक शिक्षाका निम्ति तयार हुनेछन्, बाँझो भूमिको सदुपयोग हुनेछ, सुकुमबासीको व्यवस्थापन हुनेछ । बाँझो जमिनमा खेती हुनेछ । हामी त्यो दिनको कल्पना गरिरहेका छौँ, त्यो पूरा गर्नका निम्ति । दलाल पुँजीवादका विरुद्ध क्रान्तिको आलोकमा उभिएर वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गरौँ । नयाँ नीति, नयाँ समाज, नयाँ नेतृत्व र विचार निर्माण गरौँ । यसको जिम्मेवारी अथवा व्यवस्था परिवर्तनको संवाहक÷खम्बा नेपाली विद्यार्थी बनौँ । अहिलेको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनलाई आन्दोलनको नयाँ जगका रूपमा बदलौँ र यो युगले सुम्पेको युगान्तकारी जिम्मेवारी पूरा गर्ने दृढ अठोट र संकल्पसहित हामी सबै यो आन्दोलनमा सहभागी होऊँ ।

(लेखक अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज हुन् ।)




सम्बन्धित
Loading...